भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने चेतावनी

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार गरिंदै छ। कुल १५.५ किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्शनले लिएको हो। सडक विभागका अनुसार ठेक्का रकम रु.चार अर्ब पाँच करोड ६४ लाख रहेको छ।

साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ।

निर्माण कम्पनीले सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनासँग गत जेठमै रु.१५ करोड भुक्तानी माग गरेकामा हालसम्म नपाएपछि धुलिखेलमा सरोकारवालासँगको छलफलका क्रममा निर्माण रोक्ने चेतावनी दिइएको हो।

“दशैंसम्म माग अनुसारको रकम भुक्तानी नभए साँगा-धुलिखेल सडकखण्डको काम रोक्नेछौं,” कन्स्ट्रक्शनका प्रतिनिधि रवीन्द्र श्रेष्ठले भने।

भक्तपुर सडक डिभिजन कार्यालयका सिनियर डिभिजन इन्जिनीयर नारायणप्रसाद लामिछानेले निर्माण कम्पनीबाट रु.१५ करोड माग भएको तर भुक्तानी ढिला हुने भएको बताए। उनका अनुसार सूर्यविनायक-धुलिखेलसम्म पुल निर्माण सहित सडक विस्तारका लागि कुल रु.नौ अर्ब लाग्ने र यसमध्ये जम्मा रु.५४ करोडको मात्रै ‘स्रोत सुनिश्चितता’ भएको छ।

“सुनिश्चित स्रोतमध्ये रु.१५ करोड मात्रै सरकारको हो, निर्माण कम्पनीलाई भुक्तानीको प्रक्रियामा लगिएको छ,” लामिछानेले भने।

आयोजनाका लागि हाल सरकारसँग रु.एक अर्ब माग गरिएको लामिछानेले बताए। उनका अनुसार साँगा-धुलिखेल सडकखण्ड अन्तर्गत रूख कटान कार्य शुरू गरिएको तथा विद्युत्‌का खम्बा हटाउन विद्युत् प्राधिकरणसँग समन्वयमा प्रक्रिया थालिएको छ।

साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि सो सडकखण्ड विस्तार थालिएको हो। दोस्रो चरणमा सम्झौता भएको भक्तपुरको सूर्यविनायक-साँगा ७.५ किमी सडकखण्डको ठेक्का रकम रु.तीन अर्ब ८८ करोड ९३ लाख छ। यी दुवै सडकखण्ड ३६ महीनाभित्र सक्नुपर्ने गरी २०७९ साल फागुनमा सम्झौता गरिएको थियो। -रासस

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  २ : ४८ बजे