भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन 

काठमाडौं । बरिष्ठ छातिरोग विशेषज्ञ एवं राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य डा गौरीशंकरलाल दासलाई नागरिक अभिनन्दन गरिएको छ । 
दिव्य शताब्दी पुरुष डा. दासले नेपालको चिकित्सा सेवा, मानवअधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै आज काठमाडौमा नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।
राष्ट्रियसभा गृहमा आयोजित अभिनन्दन समारोहमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कदर पत्र सहित डा. गौरीशंकर लाल दासलाई अभिनन्दन गर्नुभयो । 
अभिनन्दन समारोहमा कार्यवाहक प्रधानमन्त्री खड्काले दिव्य शताब्दी पुरुष डा दासले आफ्नो सेवामार्फत समग्र समाज र देशलाई नै योगदान पु¥याउनुभएको बताउनुभयो । 
कार्यवाहक प्रधानमन्त्री खड्काले लोक कल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य योगदान दिनुहुने विशिष्ट व्यक्तिहरूको यथोचित सम्मान र अभिनन्दन गर्ने नेपाली समाजको मौलिक परम्परा र संस्कृति रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पूर्व उपराष्ट्रपति परमानन्द झाले दिव्य शताब्दीपुरुष डा. दासको सक्रियताबाट समाजमा सधै केही नयाँ गर्नुपर्छ भन्ने सबैले पाठ सिक्नुपर्ने बताउनुभयो । 
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि सुरेन्द्रराज आचार्यले जेष्ठ नागरिकहरु समाजका गहना भएकाले उहाँहरुलाई सम्मान गर्नुपर्ने र उहाँहरुबाट नयाँ पुस्ताले राम्रा कुराहरु अनुसरण गर्न सके सभ्य समाज निर्माणमा मद्दत पुग्ने बताउनुभयो । 
काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुको विदेश पलायन रोक्न राज्यका तर्फबाट प्रभावकारी कदम चाल्नु जरुरी रहेको बताउनुभयो । 
सम्मानित व्यक्तित्व डा गौरीशंकर लाल दासले आफु देशका लागि सधैं केही गरिरहनुपर्छ भन्ने भावनाले अनवरत रुपमा लागिरहेको र बाँचुन्जेल लागिरहने बताउनुभयो । 
अभिनन्दन मूल समारोह समितिका संयोजक शंकरप्रसाद कोइरालाले पाको उमेरमा पनि सामाजिक अभियन्ताको रूपमा सक्रिया डा. दास नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रुपमा रहनुभएको बताउनुभयो ।
नागरिक अभिनन्दनका अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेख्नुभएका लेख रचनाको सँगालो पुस्तक पनि विमोचन गरिएको थियो ।
वरिष्ठ छाती रोग विशेषज्ञ डा. लाल दास यही असोजबाट एक सय वर्ष पुग्नुभएको छ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : १५ बजे