भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

गण्डकी प्रदेश : आमसञ्चार विधेयकमा एमालेको संशोधन प्रस्ताव

कास्की ।  गण्डकी प्रदेश सभामा टेबल भएको आमसञ्चार विधेयकमा नेकपा (एमाले) ले संशोधन प्रस्ताव दर्ता गराएको छ ।उक्त विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन हालेको हो । संसदमा एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, सचेतक देवका पहारी र सांसद सुधीरकुमार पौडेलले विधेयकमा आइतबार संशोधन दर्ता गराउनु भएको हो । संशोधन हाल्नुअघि एमाले संसदीय दलले पोखरामा क्रियाशील पत्रकारहरूसँग छलफल गरी सुझाव लिएको थियो ।

 

 प्रमुख सचेतक नेपालीले प्रेस रजिस्ट्रारलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउन प्रशासनिक र आर्थिक अधिकारसमेत दिइनुपर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ । ११ औँ तह अर्थात् सहसचिव सरहको प्रेस रजिस्ट्रार नियुक्तिका लागि सोही तहको सचिवको संयोजकत्वमा छनोट समिति गठन गर्ने प्रावधान विधेयमा राखिएको छ।

 

विधेयकमा प्रेस रजिस्ट्रारको कार्यविधि ४ वर्ष प्रस्ताव गरिएको छ । त्यतिका समयका लागि नियुक्त रजिस्ट्रारलाई सरकार फेरिँदा फेरिने अवस्था आउन नहुने भनी सचेतक समेत रहेकी सांसद देवका पहारीले संशोधन दर्ता गराउनु भएको हो ।

 

  विधेयकमा व्यवस्था भएको प्रेस रजिस्ट्रारलाई सरकारले मनासिब कारणबिना हटाउन नहुने संशोधन प्रस्ताव छ। संस्थागत स्थिरताका लागि रजिस्ट्रारलाई सरकारले हटाउन नहुने कारणसमेत उल्लेख गरी संशोधन दर्ता गराइएको छ । सांसद पौडेलले दर्ता गरेको संशोधन प्रस्तावमा स्वतन्त्र पत्रकारको परिभाषा विधेयकमै गरिनुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ५१ बजे