भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अझै कति उभिने हुन् बालेनको जवाफ खोजीरहेका ईंः

​​​​​​​काठमाडौं । खुट्टामा चप्पल, नीलो टिसर्ट र हाफपाइन्टमा काठमाडौं महानगरपालिका अगाडि उनी उभिएको १२३ घण्टा हुन लाग्यो । उनी अर्थात अभियन्ता ईः । काठमाडौं महानगरपालिकाको सडकमा फुटपाथ व्यवसायीले पनि व्यापार गरेर खान पाउनुपर्ने उनको मुख्य माग हो ।  न गर्मी, न झरी । हल्का आकाशे रङको टिसर्ट, हाफ पाइन्ट र खुट्टामा चप्पल । दिनरात काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को कार्यालय अगाडि उभिइरहेका छन्, ईः ।

२८ वर्षे युवा पाँच  दिनदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अगाडि सडकमा उभिएर महानगरपालिकाका युवा जनप्रतिनिधि मेयर बालेन्द्र शाहसँग जवाफदेहिता मागिरहेका छन् । 

मेयर शाहले चुनावअघि गरेको वाचा र सार्वजनिक प्रतिबद्धताविपरीत सहरको सबैभन्दा कमजोर र 'हुँदा खाने' वर्गको गाँस खोस्ने काम गरेको ई: बताउँछन् ।

उनले शान्तिपूर्णरुपमा उभिनुअघि महानगरलाई एक अवधारणापत्र बुझाएका छन्  । काठमाडौं महानगरपालिकाले २०७९ पुस २६ गते एक सूचना जारी गरेर फुटपाथलगायतका सार्वज्निक स्थानमा कुनै पनि किसिमका व्यवसाय गर्न प्रतिबन्ध लगाइदियो ।  त्यसपछि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीमाथि धरपकड सुरु गर्‍यो ।  ईंः त्यसको विरोधमा छन् । अर्थात् उनले काठमाडौं महानगरपालिकाभित्र व्यवस्थित तरिकाले फुटपाथ व्यवसायीलाई पनि राख्नु पर्ने माग राखिरहेका छन् । 

सुरुमा ७७ घण्टाको समय दिएर उभिएका यीनी उक्त समयमा आफ्नो मागको सुनुवाइ नभएपछि  १२३ घण्टाको समय लम्ब्याएर उभिइरहेका छन् । उनको थपिएको समय  आज ४ बजे सकिदैँ छ । 

चुनावअघि ‘सजिलै व्यवस्थापन गर्न सकिन्छ’ भन्ने आफ्नो सामान्य कुरा बिर्सिएर  बालेनले नगर प्रहरी लगाएर काठमाडौं उपत्यकाबाट गरिबी होइन, गरिबलाई विस्थापित गर्न लागि परिरहेको बताए । आफु बालेनको सुरुको प्रतिवद्घता संझाउन  सभागृह अगाडि उभिएको उनी बताउँछन् । महानगरपालिकाभित्र सडक व्यवसाय गर्नेलाई निश्चित समय, स्थान र शुल्क तोकेर व्यवसाय गर्न दिनुपर्ने उनको उनको माग छ । 

महानगरले  निमुखा सडक व्यवसायीका सामान खोस्दै लिलाम गर्नुए  सरासर गैरकानुनी भएको उनले बताए । ‘गरिब हटाएर समस्याको समाधान हुँदैन ,उनीहरुको जीवन निर्वाहको गास खोस्नु अन्याय हो । ’उनले भने । “सडकमा व्यापार गर्नेहरु हुँदा खाने वर्गहरु हुन् । सडकमा व्यवसाय गर्नेहरु आर्थिक हिसाबले कमजोर र फरक क्षमता भएका व्यक्तिहरु छन्” ईःले भने, “विकल्प विना हटाउँदा उहाँहरुको अवस्था कस्तो हुन्छ ? बालेन शाहले सोच्नु पदैन ? मेयर करुणादायी, सहानुभूतिशील र जवाफदेही नहुने हो भने नयाँ नेतृत्त्वमा फरक के भयो र ? युवा भएर मात्र भएन, बालेन र उनका प्रहरी जवाफदेही हुनुपर्‍यो ।” उनले भने ।

 लामो समय एक्लै उभिदा पनि उनको माग सुनुवाई नभएपनि उनले आफ्नो आत्मल जोगाइ राखेका छन् । “कम्तिमा वार्ता होस् भन्ने चाहेका थियौं, तर हुन सकेन,” उनले भने, “वार्ता पनि हुन सक्दैन भने हामीले समय थप गर्नुको विकल्प रहेन । आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने हो । अहिलेसम्म खुट्टाले थामिरहेको छ, ढलेको छैन । मैले यत्तिकै छोड्दा यो मुद्दा सेलाउँछ । त्यै भएर मैले यो निर्णय गर्न वाध्य भए ।” उनले भने । 

को हुन् ईः ?

आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने ईः आफ्नै पूरा नामसमेत भन्न रुचाउँदैनन् । कोरोना महामारीका बेला सरकारले नागरिकको जिऊ धनको रक्षा गर्नेमा संवेदनशील नभएको भन्दै ‘इनफ इज इनफ’ अभियानको संयोजन गरेर चर्चामा आएका उनी विगत आठ वर्षदेखि सामाजिक अभियानमै सक्रिय छन् ।

‘म सानैदेखि जिज्ञासु थिएँ, अनि विद्रोही पनि । सानै उमेरदेखि संसारलाई आफ्नै ढंगले बुझ्न थालेँ । त्यसकारण मैले समाज र परिवारले दिएको पहिचान छोडेर आफैँले ईः नाम राखेको हुँ,’ उनले भने। थापाथली काठमाडौंमा जन्मिएका उनी हाल परिवारसँग बस्दैनन्, सामाजिक जीवन बाँच्छन् । ‘वास्तवमा म त फकिर हुँ, मलाई धन सम्पत्तिको लोभलालच छैन । म मन्दिर, पाटी पौवा र धर्मशालामा बस्न सक्छु, सामान्य खाएर बाँच्नुमा रमाउँछु,’ उनले थपे । व्यक्तिगत र पारिवारिक कुरा धेरै बताउन नचाहने उनी सामाजिक क्षेत्रको कामले आफूलाई चिनाउन चाहन्छन् ।

उनले ‘इनफ इज इनफ’ र ‘अकुपाई बालुवाटार’ अभियानदेखि सामाजिक सद्भाव जगाउने अभियानसम्मको नेतृत्व गरेका छन् । सन् २०१५ मा सद्भाव र एकताको सन्देश लिएर मधेश पैदल यात्रा गरेका उनले त्यसपछिका दुई वर्ष नेपाल यात्रा गरे । उनी त्यस अवधिमा आफूले हिमाल, पहाड र तराई गरी साढे तीन पटक नेपालयात्रा गरेको बताउँछन् ।

सन् २०२० मा विश्व कोभिड–१९ को महामारीबाट प्रताडित भयो । नेपालमा महामारी नियन्त्रणमा सरकारले कमजोरी गरेको भन्दै काठमाडौंमा ‘इनफ इज इनफ’ अभियान चल्यो, त्यसको नेतृत्व उनैले गरेका थिए । कोभिडपछि उनले दक्षिण एसियाको पैदल यात्रा गरे । ‘सन् २०२१ र २२ मा मैले भारत, श्रीलंका र बंगलादेशका विभिन्न ठाउँहरूसम्म पैदल यात्रा गरेँ,’ उनले अघि भने, ‘समग्रमा मैले अहिलेसम्म १४ हजार किलोमिटर पैदल यात्रा गरेको छु ।’

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  २ : ५९ बजे