भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल

काठमाडौँ।  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभामा उहाँले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताउनुभयो । नेम्वाङप्रति देखिएको सद्भाव र उहाँको अवसानपछि देखिएको सहानुभूतिले उहाँले सार्थक जीवन जिउनुभएको महासचिव पोखरेलले बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उहाँले बताउनुभयो । “एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ”, पोखरेलले भन्नुभयो, “माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ ।” नेम्वाङ संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेको व्यक्ति भएको उल्लेख गर्दै नेम्वाङ एमालेको नेतामात्र होइन संवैधानिक र कानुनी सल्लाहकारका रूपमा पनि रहेको उहाँले बताउनुभयो ।

नेम्वाङप्रति सम्मान गर्ने हो भने उहाँको भावना बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । सभामा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, डा विजय सुब्बालगायत नेताहरुले नेम्वाङको योगदानलाई बिर्सन नसकिने बताउनुभएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ३ : ५७ बजे