यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

गालेपछि फेरि घट्यो सुनको तौल

​​​​​​​काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंक स्रोतले बतायो । 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।

टक्सार महाशाखाका निर्देशक  आचार्यका अनुसार सोमबार ब्रेक प्याडबाट अलग गर्दा सुनको तौल ६० किलो ७८९ ग्राम भएको थियो । त्यसपछि बाल्दा परिमाण केही ग्राम घटेर वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । 

सोमबारदेखि राष्ट्र बैंकले सुन ब्रेक प्याडबाट अलग गर्ने र गाल्ने प्रक्रिया सुरु गरेको थियो । असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत आएको सुन ‘रेडी ट्रेड प्रालि’ले मगाएको खुलेको थियो  । १६० वटा ‘ब्रेक प्याड’ मा छिपाएर सुन काठमाडौँ ल्याइएको थियो । सुन सहितको ब्रेक प्याडको तौल १५५ किलो थियो । 

 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ५८ बजे