यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सुन प्रकरणमा पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक एकै दिन छुटे

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका तीन जना आज (शनिबार) एकै दिन छुटेका छन् । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक र व्यापारी रोहन अडुकिया एकै दिन थुनामुक्त भएका हुन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाएको थियो । अनुसन्धानका क्रममा उनीहरुलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुने गरी छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उनीहरुसँगै व्यवसायी राकेश अडुकियाका छोरा रोहन पनि थुनामुक्त भएको उनले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो ।

राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो । व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आए लगत्तै विमानस्थलबाटै पक्राउ परेका थिए । तर, उनको संलग्नता खुल्ने आधारहरु नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन । उनलाई पनि आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ०६ बजे