प्रतापपुरमा प्रहरी र विद्यार्थीबीच झडप, ५ राउण्ड अश्रु ग्यास प्रहार

परासी । नवलपरासीको प्रतापपुर गाउँपालिकामा  स्कुल र क्याम्पस सञ्चालनको विषयले उग्ररुप लिँदा बिहीबार झडप भएको छ । झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

प्रतापपुरको त्रिभुवन मावि र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको थियो । विद्यालय प्रशासनले कक्षा कोठा अपुग भएको भन्दै दिउँसो सञ्चालन हुने कक्षा ११ र १२ को पढाइका लागि कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गर्दै आएको छ ।

तर, क्याम्पस प्रशासनले भने क्याम्पस क्युएए प्राप्त गर्ने प्रक्रियामा रहेकाले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कक्षा कोठा उपलब्ध गराउन नसकिने जनाउँदै आएको छ । कक्षा कोठा उपलब्ध नगराएको भन्दै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा नगर प्रहरीसहितका केही जनप्रतिनिधि पुगेर बुधबार क्याम्पस मुल गेटको ताला फोडेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष अमुल पाण्डेले बताए । 

ताला फोडेपछि आक्रोशित विद्यार्थी बिहीबार गाउँपालिका घेराउ गर्न पुगेका थिए । सोही क्रममा प्रहरी र विद्यार्थीबीच विवाद हुँदा झडप भएको हो । ६७८ विद्यार्थी अध्ययनरत क्याम्पसमा २० वटा कोठा रहेको अध्यक्ष पाण्डेले बताए । उक्त क्याम्पस भारतीय दुतावासको सहयोगमा निर्माण भएको हो । दुई छुट्टाछुट्टै भवन रहेको विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालनमा छ ।

क्याम्पस निर्माण भएको जग्गा विद्यालयको रहेको र पालिका मातहत रहेकाले कक्षा कोठा उपलब्ध गराउन क्याम्पस प्रशासनसँग माग गरेको गाउँपालिका अध्यक्ष यादवले बताए । विद्यालयको १२ कोठे नवनिर्मित भवन तयार हुन केही दिन लाग्ने भएकाले सो समयसम्मका लागि ८ वटा कोठा माग गरिएको उनले बताए । 

राजनीतिक पूर्वाग्राहीका कारण विद्यार्थी उचालेर गाउँपालिका घेर्न पठाएको अध्यक्ष यादवको आरोप छ । गाउँपालिकामा ताला लगाउन पुगेका विद्यार्थीलाई रोक्दा ढुंगा प्रहार हुन थालेपछि स्थिति नियन्त्रण लिन ५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताए ।

झडपका क्रममा ५ जना प्रहरी सामान्य घाइते भएको र ३–४ जना विद्यार्थी पनि घाइते भएको पाण्डले बताए । झडपमा गाउँपालिका अगाडी रहेको एक निजी कारमा सामान्य क्षति पुगेपनि अरु क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ४२ बजे