कैदी मृत्यु प्रकरण : परिवारले मानेनन् शव बुझ्न

किमाथाङ्का । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधवार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरूका परिवारजनले शव बुझ्न मानेका छैनन् । 

प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।

कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधवार बिहान मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले कैदीबन्दी तोलाङ्गी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बताउनुभयो । 

कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्किने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको उहाँको भनाइ छ । कारागारका अन्य कैदीबन्दी र स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले दुवै जनालाई कुटपिट गरेको  बताउँदै आएका छन् ।  

प्रहरीविरुद्ध कारागारभित्रका कैदीबन्दीले नाराबाजी र प्रदर्शनसमेत गरेका छन् । दोषी प्रहरीमाथि कारबाही हुनुपर्ने कैदीबन्दीको माग छ ।  

कैदीको मृत्यु पछि कारागारको आन्तरिक सुरक्षालाई ध्यानमा राख्दै नाइकेसहितका नौ  बन्दीलाई जिल्ला प्रहरीमा लगिएको कारागारका जेलर राजेन्द्र घिमिरेले बताउनुभयो । 

जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा तोलाङ्गीलाई १८ वर्ष तथा चोरी मुद्दामा बलामीलाई तीन वर्ष कैद सजायको फैसला गरेको थियो । दुवै जना एक वर्षदेखि यहाँको कारागारमा थिए । 

छानबिन समिति गठन
​​​​​​​जिल्ला कारागारमा बुधवार भएको घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा प्रहरी निरीक्षक सरोज खनाल र जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तारिणी घिमिरे सदस्य रहेको समिति गठन गरिएको छ ।  

जिल्ला कारागारमा हाल आठ महिलासहित एक सय ३८ कैदीबन्दी छन् । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : १६ बजे