नेपाली आकाशमा भारतीय हेलिकप्टर फन्को मार्दै, सरकार र गृह मन्त्रालय मूकदर्शक

काठमाडौँ – भारतीय पक्षले नेपाली आकाशमा बारम्बार अनधिकृत रुपमा हेलिकप्टर उडाउँदै आएको छ।

भारतले नेपाली प्रशासनसँग समन्वय नै नगरेर एकलौटी ढंगले पटक पटक दार्चुलास्थित नेपाली आकाशमा  हेलिकप्टर उडाइरहेको हो।

नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन नदिने भारतलाई भने सरकारको लपार्वाहीका कारण भारतले  अनधिकृत रुपमा एकलौटी ढंगले तारन्तार हेलिकप्टर उडाउँदै आएको छ।

भारतीय हेलिकप्टरले खलंगाको आकाशमा विगत ६/७ दिन देखि सरकारी अड्डामाथि फन्को लगाइरहेको महाकाली नगरपालिकाका स्थानीयहरु बताउँछन् ।

नेपाली आकाश प्रयोगका लागि भारतीय पक्षले कुनै औपचारिक जानकारी नगराएको र नेपाली प्रशासनसँग कुनै समन्वय नगरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामी बताएका छन् ।

यसअघि तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजीका लागि नेपाली प्रशासनलाई नदीमा ड्रोन समेत चलाउन नदिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अहिले नेपाली आकाशमा निर्धक्क भएर हेलिकप्टर चढेर उडिरहेका छन् ।

दार्चुलाको सीमा क्षेत्रमा भारतको दादागिरी र बलमिच्याँइ दिन प्रति दिन बढ्दै जाँदा समेत सरकार चुइक् बोल्न सकेको छैन । भारतले धेरै पटक नेपाली प्रशासनसँग समन्वय नै नगरी हेलिकप्टर उडाउँदै आएको छ ।

भारतीय पक्षले अनाधिकृत रुपमा पटकपटक हेलिकप्टर उडाएपछि दार्चुला प्रशासनले लिखित आपत्ति जनाउँदै अनुमतिबिना नेपाली आकाशमा हेलिकप्टर किन उडाएको भनेर पत्राचार गरेर जवाफ समेत मागेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।

नेपाली प्रशासनले पटक पटक पत्राचार गरेपनि अहिलेसम्म भारतीय प्रशासनले त्यसको जवाफ भने पठाएको छैन ।

नेपाली आकाशमा भारतले हेलिकप्टर उडाएको घटना बारे गृह मन्त्रालयलाई समेत जानकारी गराउँदा गृहमन्त्रालयले हाल सम्म कुनै ठोस् कदम नचाल्दा भारतले अहिले पनि हेलिकप्टर उडाई रहेको  छ ।

नेपाल बाहेक अन्य मुलुकको आकाशमा यसरी हेलिकप्टर चलाएमा त्यहाँका सेनाले सुरुमा चेतवानी दिने र पुनः दोहोर्याए आक्रमण गरेर खसाल्ने गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : २२ बजे