यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

विद्युत् अवरुद्ध हुँदा होटल सङ्घ पोखराद्वारा प्राधिकरणको ध्यानाकर्षण

गण्डकी – प्रत्येक दिन समयसमयमा विद्युत् अवरुद्ध हुँदा समस्या पर्ने गरेको भन्दै होटल सङ्घ पोखराले आज नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको ध्यानाकर्षण गराएको छ ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले प्राधिकरणका प्रादेशिक प्रमुख जगदीशचन्द्र जोशीलाई समयसमयमा विद्युत् अवरुद्ध हुँदा हुने समस्याबारे जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाइएको हो ।

विद्युत् अवरुद्ध हुँदा होटल क्षेत्रका साथै आम सर्वसाधारण मर्कामा परेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई सेवा उपलब्ध गराउन कठिनाइ हुँदै आएको उहाँले जानकारी दिनुभयो । सङ्घका महासचिव राजेन्द्र ढकालले पैसा तिरेर पनि उपभोक्ताले सहजरुपमा विद्युत् पाउन नसक्दा सर्वसाधारण मारमा परेको बताउनुभयो ।

सङ्घकी सचिव पार्वता पाण्डे, निवर्तमान अध्यक्ष विकल तुलाचन, प्रथम उपाध्यक्ष दीपक श्रेष्ठलगायतले समयसमयमा विद्युत् कटौती हुँदा होटेलसहित पर्यटन क्षेत्रले ठूलो समस्या भोग्दै आएको बताउनुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै प्राधिकरणका प्रादेशिक कार्यालयका प्रमुख जोशीले खपतभन्दा धेरै विद्युत् उत्पादन भएका कारण अहिलेको समस्या उत्पन्न भएको बताउनुभयो । उत्पादन धेरै तर खपत कम हुँदा ट्रिप भएर विद्युत् अवरुद्ध हुने गरेको उहाँको दाबी छ ।–––

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे