जेल परेका लाल बहादुरले सफाइ पाए

काठमाडौँ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो ।

बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ ।

ज्वेलर्समा कालिगढका रूपमा कार्यरत लालबहादुरलाई अदालतले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवा र तीन वर्ष जेल सजाय सुनाएको थियो ।

लालबहादुर इटहरी २० स्थित स्थानीय दीपक गजमेरले सञ्चालन गरेको सिंहदेवी ज्वेलर्समा मजदुर (कालीगढ)का रूपमा काम गर्थे ।

लालबहादुर निर्दोष रहेको र उनीसँग कुनै कारोबार नगरेको भनी प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले बकपत्र समेत अदालतमै दिएका थिए । पछिल्लो समय सामाजिक सञ्जालमा लालबहादुरले न्याय पाउनुपर्ने भन्दै चर्को आवाज उठिरहेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २६ बजे