प्रहरीसँग तथ्याङ्क माग्ने पत्रकार माथि कुटपिट र दुर्व्यवहार

काठमाडौँ – समाचारका लागि जिल्ला प्रहरी कार्यालय, सप्तरीसँग तथ्याङ्क माग गर्दा प्रहरीले एक जना पत्रकार कुटपिट र दुर्व्यवहार गरेको छ ।

सोमबार प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवम् अन्नपूर्ण दैनिकका सप्तरी प्रतिनिधि पत्रकार मनोहर पोखरेलले समाचार सङ्कलनको लागि प्रहरीसँग तथ्याङ्क माग गर्दा असई राजेश्वर महतोले कुटपिट गरेका हुन् । जबरजस्ती करणी र गर्भपतनको मुद्दा दर्ता गर्न प्रहरीले नमानेको भन्दै स्थानीयले गरेको गुनासोको विषयमा बुझ्न गएका पत्रकार पोखरेललाई कार्यालयभित्रै असई महतोले कुटपिट गरेका थिए ।

शान्ति सुरक्षाको प्रत्याभूति गर्ने निकायले नै सञ्चारकर्मी एव अधिकारकर्मी जस्तो गरिमामय जिम्मेवार व्यक्तिमाथि प्रहरीनै कुटपिट र  दुर्व्यवहार जस्तो दुखद घटनामा उत्रिएकोमा प्रेस चौतारी नेपाल, सप्तरीले विज्ञप्ति जारी गर्दै उक्त कार्यको घोर भर्त्सना गरेको छ । प्रेस चौतारी नेपाल, सप्तरीका अध्यक्ष डम्बर राईले जारी गरेको विज्ञप्तिमा दोषी प्रहरी महतोलाई तीन दिन भित्र कुनै कारबाही नगरे सिङ्गो सङ्गठन आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख छ ।

प्रेस चौतारीले यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय सप्तरीको समेत ध्यानाकर्षण गराएको छ ।

​​​​​​​इन्सेक सप्तरीका प्रतिनिधि समेत रहेका पत्रकार मनोहर पोखरेललाई प्रहरीले अनुहार लगायत शरीरको अन्य भागमा मुक्का, लात्तीले कुटपिट गरेर घाइते बनाउँदा उनी अहिले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ५२ बजे