‘भिआइपी क्याबिन’ मा बस्छन् ललिता निवास प्रकरणका आरोपी

काठमाडौं – प्रहरीको हिरासत छल्न ललिता निवास प्रकरणका आरोपी अस्पतालको ‘भिआइपी क्याबिन’ (डिलक्स क्याबिन)मा बसेको खुलासा भएको छ ।

ललिता निवास प्रकरणको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका व्यवसायी मीनबहादुर गुरुङ एक महिनादेखि शिक्षण अस्पतालमा रहेको खुलासा भएको हो । गुरुङ एक महिनादेखि अस्पतालको ‘भिआइपी क्याबिन’ (डिलक्स क्याबिन)मा रहेको त्यहाँका एक चिकित्सकले बताएका हुन् ।

उच्च पदस्थ कर्मचारी, व्यापारी र नेताहरूले आफू सुगर र प्रेसरको बिरामी भएको भन्दै उपचारको बहानामा अस्पताल भर्ना हुँदै आएका छन् ।

ललिता निवास प्रकरणमा मुछिएका ६९ वर्षका गुरुङले पनि आफू सुगर र प्रेसरको बिरामी भएको बताउँदै अस्पताल भर्ना भएका छन् । बहाना सुगर र प्रेसरको गरे पनि गुरुङले भने अस्पतालको श्वासप्रश्वास विभागको ‘भिआइपी क्याबिन’ (डिलक्स क्याबिन)मा भर्ना भएका छन् ।

सुगर र प्रेसरको बिरामी भन्दै अस्पताल पुगेका गुरुङले त्यहाँ मोतिया बिन्दुको अप्रेसन गराएका छन्। मोतिया बिन्दुको अप्रेसन पश्चात् लामो समय अस्पतालमा बस्नु नपर्ने र घर पठाउने प्रचलन रहेको चिकित्सकहरू बताउँछन्।

प्रहरीको नियन्त्रणमा पुगेकाहरूका लागि उपचार गराउन केन्द्रीय कारागारमा अस्पताल समेत रहेको छ।

गुरुङ गत असार १२ गते पक्राउ परेका थिए तर उनले त्यही दिन उपचारको बहाना गर्दै अस्पताल पुगेका थिए। गुरुङमाथि बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेको अभियोग छ।

ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेका सुधीर शाह, धर्मप्रसाद गौतम, सिद्धिका खेतान र कलाधर देउजा पनि अस्पतालमै  छन्।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ०४ बजे