झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि महत्त्वपूर्ण : पूर्व राष्ट्रपति भण्डारी

​​​​​​​काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि हुनु हामी सबैको लागि चिन्ता र चुनौतीको विषय बन्न पुगेको बताउनुभएको छ । 

विश्व बाघ दिवस, २०८० को सन्दर्भमा आज शुभकामना सन्देश दिनुहुँदै पूर्व राष्ट्रपति भण्डारीले वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार‚ बाघका लागि आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । 

“सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर बनाएर सन् २०२२ सम्म २५० पुर्‍याउने प्रतिबद्धता जाहेर गरेको थियो । जसअनुसार नेपालले लक्ष्यभन्दा बढी बाघको सङ्ख्या वृद्धि गरी हाल ३५५ पुर्‍याउन सफल भएको छ ।”, उहाँले सन्देशमा भन्नुभयो, “यसबाट विश्वका १३ देशमा मात्र पाइने पाटे बाघ लगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो । यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, सङ्घ संस्था, समुदाय र संरक्षणकर्मीहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।”

बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण हुने भएकाले यसको संरक्षणका उचित उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई उहाँले आव्हान समेत गर्नुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले जैविक विविधताको संरक्षण एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु पाटे बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जुलाई २९ का दिन प्रकृतिको सुन्दर प्राणी पाटे बाघको संरक्षणका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्वभर ‘अन्तर्राष्ट्रिय बाघ दिवस’ मनाउने गरिन्छ । 

 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ११ : ५२ बजे