भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन

काठमाडौँ । मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले वायु सेवा सञ्चालकको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ ।

सङ्घले पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यमा क्याप्टेन हिराबहादुर दाहाल, रवि कंसाकार र नारायणबहादुर डङ्गोल रहनुभएको छ । समितिले एक महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउने छ । प्रतिवेदनमा समेटिएका कमीकमजोरीलाई सङ्घले विधि र प्रक्रियाबारे थप अध्ययन गरेर हवाई उद्योगलाई सुरक्षित बनाउनेतर्फ लाग्ने जनाएको छ ।

‘हवाई उड्डयनको वर्तमान अवस्था, चुनौती तथा असर सम्बन्धमा’ आज आयोजित कार्यशाला गोष्ठीको अवसरमा सङ्घले उक्त समिति घोषणा गरेको हो । 

हवाई दुर्घटनाको कारण पत्ता लगाई हवाई सेवालाई सुरक्षित बनाउन तथा हवाई दुर्घटना न्यूनीकरणका लागि राय सुझाव पेस गर्ने गरी समिति गठन गरिएको सङ्घले उल्लेख गरेको छ ।

सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हवाई सुरक्षा अभिवृद्धिका लागि समिति गठन गरिएको बताउनुभयो । उहाँले हवाई दुर्घटना न्यूनीकरणका लागि सङ्घ लागिपरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा यस कार्यलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्राधिकरणले क्याप्टेनलाई मात्रै कारबाही गरेर हवाई सुरक्षा अभिवृद्धि हुँदैन भन्दै पर्वतीय उडान र स्वीङ उडान रोक्नुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । 

हेलिकोप्टरको हरेक उडानमा ‘इनरुट वेदर’को विषयमा सम्बन्धित निकायबाट पर्याप्त मौसमसम्बन्धी जानकारी नपाउने गरेका कारण पनि दुर्घटनाको जोखिम निम्तने खतरा रहेको सङ्घको भनाइ छ । 

हेलिकोप्टरले आफ्नै एजेन्ट गन्तव्यमा राख्नुपर्ने र सोही आधारमा उडान भर्नुपर्ने बाध्यता रहेको भन्दै सङ्घले नियामकको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : १२ बजे