झ्याप्लेखोलाबाट २५ शव निकालियो

पहिरोले घर पुरिदा बैतडीमा आमा छोराको मृत्यु, तीन जना घाइते

बैतडी । बैतडीमा पहिरोले घर पुरिदा आमा छोराको मृत्यु भएको छ । 

जिल्लाको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको हो । आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराेले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो ।

मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासू आमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । 

सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिनुभयो । घाइतेलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो।

पहिराेले घर र पशुचौपायामा पनि क्षति पुगेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  १० : ०० बजे