झ्याप्लेखोलाबाट २५ शव निकालियो

‘पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउनुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले पुष्पलाल श्रेष्ठको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउनुपर्नेमा जोड दिनुभएको छ  । 

एमाले काठमाडौँ जिल्ला कमिटीले आइतबार आयोजना गरेको ‘समाज रूपान्तरणमा पुष्पलालको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले पुष्पलाल कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने अभियानमा लाग्नुभएको बताउनुभयो । 

पुष्पलालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन विचार मात्र नभएर सङ्गठनलाई व्यवस्थित गरेको नेता पोखरेललेको भनाइ छ । पुष्पलालको सपना साकार पार्न जनताको सबै आवश्यकता जोडिएको परिपूर्ण लोकतन्त्रलाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर उठाउने कार्यक्रम अगाडि सार्नुपर्ने उहाँले बताउनुभयो । 

“पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न सङ्गठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा सङ्गठन निर्माण गर्नुभयो । यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो”, कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो । 

पुष्पलाल जस्तोसुकै अवस्थामा रहे पनि उहाँको आस्था, विश्वास कहिल्यै नडगमगाएको नेता पोखरेलले बताउनुभयो । उहाँले पुष्पलालका विचार, बाटो, दृष्टिकोण अहिलेको सङ्कल्प रहेको बताउनुभयो । 

काँग्रेस नेता चन्द्र भण्डारीले पुष्पलाल नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति सबै दलसँगै जानुपर्दछ तब मात्र मुलुकलाई प्रजातान्त्रिक प्रक्रियामा लैजान सक्दछौँ र स्वतन्त्र बनाउन सक्छौँ भन्ने अभियानमा लाग्नुभएको बताउनुभयो । उहाँले पुष्पलालले बोकेको लक्ष्यमा नेपालका राजनीतिक दल छ कि छैनन् त्यसको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

“पुष्पलाल काँग्रेसको कार्यालयको सचिव पनि हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “त्यो बेलाको उहाँको जोस, जाँगर र विद्रोह यति ठुलो थियो कि मैले छुट्टै पार्टी गठन गर्नुपर्दछ । संसारका मजदुरको मैले भारी बोक्नुपर्दछ भन्ने लाग्यो र कम्युनिष्ट पार्टी गठन गर्नुभयो ।” 

नेपालका लागि भारतका पूर्व राजदूत नीलाम्बर आचार्यले पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो । उहाँले पुष्पलालको एकता र संयुक्त आन्दोलनको सन्देशलाई मुलुकका प्रमुख समस्या समाधानमा संयुक्त प्रयासको सन्देशमा परिणत गर्नुपर्ने धारणा राख्नुभयो ।

पुष्पलालले मार्क्स र एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरी पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गर्नुभयो । 

कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थापना भयो । नेकपाको पुष्पलाल संस्थापक महासचिव हुनुहुन्थ्यो । 

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ७ : ११ बजे