भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ। यसअघि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो। 

कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै पूर्व मुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

सर्वोच्चले मुख्यमन्त्री नियुक्ति गर्दाका सक्कलै फाइल झिकाउँदै प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो। 

न्यायाधीश सपना प्रधान मल्लको इजलासले थापालाई मुख्यमन्त्री बनाउन गरिएको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षरलगायत सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखले असार २१ गते गरेको निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको थियो। 

प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर जोडेर बहुमत देखाएर कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न माग गर्दै एमालेले असार २९ गते रिट दायर गरेको हो। 

एमालेले रिटमा संविधानको धारा १६८ को उपधारा २ अनुसार निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  १ : २२ बजे