झ्याप्लेखोलाबाट २५ शव निकालियो

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, एक विधेयक फिर्ता हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै छ । 

प्रदेश संसद् सचिवालयले आज दिउँसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको जनाएको छ ।  

गत असार २० गते राति लुम्बिनी प्रदेशको आगामी वर्षको बजेट प्रदेशसभाबाट पारित भएसँगै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । 

प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जारी गर्नुभएको सूचनाअनुसार लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशनको १९ औँ बैठक असार ३० गते दिउँसो १ः०० बजेका लागि सभामुखको निर्देशनअनुसार आह्वान गरिएको हो ।

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने सम्भावित कार्यसूची रहेको सचिव पुनले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारले यसअघि लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरेको थियो। प्रदेशसभामा छलफल नभई रोकिएको उक्त विधेयक आजको प्रदेशसभा बैठकबाट फिर्ता गर्ने तयारी थालिएको छ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ३६ बजे