दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ  ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २०८४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १२.६२ अंक घटेको हो । कारोबार भइरहँदा ११ : ५५ बजे २१२१ अंकसम्म पुगेको परिसूचक त्यसपछि क्रमिक रुपमा ओरालो लाग्यो । 

परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३९ करोडको कारोबार भयो । कुल १६५ कम्पनीको मूल्य घट्दा ५४ को बढ्यो भने ५ को स्थिर रह्यो । यस दिन बैंकिङ ३.७ र होटल तथा पर्यटन १० अंक बढे । ती बाहेकका सबै उपसमूह घटे ।

विकास बैंक ६३, फाइनान्स ३९, जलविद्युत् ४५, जीवन बीमा १३५, उत्पादन ३६, माइक्रोफाइनान्स १.९, निर्जीवन बीमा ११३, अन्य १२ र व्यापार उपसमूह ४४ अंक घटे । ऋणपत्र तथा सामूहिक लगानीकोषका इकाईहरु मूल्य बढेका सूचीमा अघि रहे । पिपुल्स हाइड्रोपावरको ६ तथा हिमालयन पावरको ५.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम र चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ३ : २७ बजे