भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सांसद विकास कोषको रकममा अनियमितताको आशंका

सिरहा । कानुन निर्माणको जिम्मेवारी वहन गरेकाबाटै कानुनको पालना नगरेको दृष्टान्त प्रशस्तै भेटिन्छन् । यस्तै मध्येको एक हो, सिरहामा सांसद विकास कोषको रकम परिचालनमा देखिएका दृश्यहरु । सिरहा निर्वाचन क्षेत्र नम्वर ३ प्रदेश ‘१’ बाट निर्वाचित प्रदेशसभा सदस्य मनोज कुमार सिंहले आफ्नो निर्वाचन विकास कोषबाट गरिरहेको विकासको काममा सामान्य सूचना बोर्ड समेत नराखेर कानुनको पालनामा उदासिनता देखाएका छन् । 

 

सिंहको विकास कोषको रकमबाट आफ्नो क्षेत्रमा सिँचाई, खानेपानी, सडक आरसीसी ढलानको योजनाहरु सञ्चालनमा छन्। उनको विकास योजनाको कुनै पनि ठाउँमा योजनाबारे जानकारी दिन राखिनुपर्ने सूचना बोर्डहरु छैन।   गोलबजार नगरपालिका–९ मा सडक आरसीसी ढलानको काम भइरहेको छ । उपभोक्ता समितिले काम गरिरहेको भने पनि त्यहाँ उपभोक्ता समिति को हो भन्ने नै उपभोक्तालाई थाहा छैन। निर्माणको काम भने गोलबजार ७ चोहर्वाका व्यवसायी ओमप्रकाश श्रेष्ठले गराइरहेका छन्। 

 

काम भईरहेको बेला रिपोर्टिङका क्रममा पुग्दा त्यहाँ व्यवसायी श्रेष्ठले काम गराइरहेका थिए। उनले उपभोक्ता समिति गठन भएको भने पनि आफैंले काम गराइरहेको बताए। उनले भने, ‘गाउँकै उपभोक्ता समिति छन्, मैले अहिले नाम बिर्सें। काम मैले नै गराउँदै छु ।’

सोही वडाको डण्डाटोलमा गंगाप्रसाद महतोको घर अगाडि १० लाखको लगातमा गोलघर निर्माण कार्य भइरहेको छ । गाउँकैहरुलाई राखेर नामको लागि उपभोक्ता समिति गठन गरे पनि काम भने प्रदेशसभासदस्य आफैले ठेक्केदार मार्फत काम गराइ रहेको स्थानियहरु बताउँछन्।

गोलघर निमार्णकार्य गर्न गठन गरिएका उपभोतmालाइ जानकारी नै नगराई काम सुरु भएपछि स्थानिहरुले विरोध गरेका थिए। तर, विरोधका बाबजुद प्रदेशभा सदस्य सिंह आफैंले निश्चित प्रतिशतको बार्गेनिङमा कामको जिम्मा ठेकेदारलाई दिएको उपभोतmा समिति अध्यक्ष राजकुमार महतोले बताए। उनले भने, ‘प्रदेशसभा सदस्य मनोज सिंहले आफैले काम गराइरहेको छ । यो गोलघर बनाउन १० लाख विनियोजन गरेको भन्ने सुनेको थिएँ । काम गर्न मलाई नै उपभोक्ता समितिको अध्यक्ष बनाइयो । तर, ७ लाखमा यो निमार्ण कार्य गर्न ठेकेदारको जिम्मा लगाइएको सुनेको छु । अहिलेसम्म मलाई कुनै जानकारी छैन ।’

 

प्रदेशसभा सदस्य मनोजकुमार सिंहका संसदीय विकास कोषका प्रतिनिधि राजकिशोर सिंहले आफ्ना सबै योजनाहरु उपभोक्तामार्फत् नै गराइरहेको दाबी गरेका छन् । उनले भने, ‘हामीले सबै योजनाहरुमा उपभोक्ता समिति गठन गरेका छौं । सबै काम उपभोक्ता समितिबाटै भइरहेको छ ।’ उपभोक्ताहरुले काम गराउनै नसक्ने भन्दै सिंहले घुमाउरोपारामा ठेकेदारमार्फत् काम गराएको स्वीकार गरे। 

 

क्षेत्र नम्बर ३ को प्रदेश ‘१’ मा आर्थिक वर्ष २०७९÷०८० मा  निर्वाचन विकास कोषबाट अनार्मा गाउँपालिका १, २ र ३ मा ४० लाखको लागतमा खानेपानी चापाकल जडान, विष्णुपुर वडा १ र ५ २० लाखको लागतमा खानेपानी चापाकल जडान, गोलबजार नगरपालिकादेखि १२ सम्म २५ लाखको लागतमा खानेपानी चापाकल, ८ नम्बर वडामा अधुरो दुर्गा मन्दिर निर्माण १० लाख र ८ मै डिहवार बाबाको प्रांगणमा भण्डार भवन तथा मण्डप निर्माण कार्य ७ लाख विनियोजन गरेको छ । 

 

गोलवजार नगरपालिका ३ मुसहर्नियामा खानपानी ट्यांकी पाइप सहितको १३ लाख,  १, २, ३ र ६ मा ५० लाखको लागतमा सिचाई वोर्डिङ जडान, ७, ८, ९ र १० नम्बर वडामा ५० लाखको लागतमा सिचाई वोर्डिङ जडान, ४, ५, ११ र १२ मा ५० लाखको लागतमा सिचाई बाेरिङ, वडा नम्वर ९ मा गोलघर निर्माण १० लाख र नरहा गाउँपालिका १ र २ नम्वर वडामा २० लाखको लागतमा सिंचाई वोर्डिङ जडान कार्य गर्न बजेट विनियोजन गरिएको छ । 

विनियोजन गरिएका यी बजेट संशोधन गरि अन्य काममा पनि लगाएको साइड इन्जिनियर ध्रुवप्रसाद साहले बताए । उनले भने, ‘यो प्रस्तावित योजना हो । काम गर्ने क्रममा कतिपय योजनाहरु फेरबदल पनि भएको छ ।’ 

 

असारको मध्येसम्ममा धेरै योजनाहरु निर्माणकै क्रममा छन् । असार २४ भित्र सबै योजनाहरुको  भुक्तानी गर्ने समयसीमा तोकिएको भए पनि कामहरु निर्माणका कार्यहरु अझै अधुरै रहेका छन्।योजनास्थलमा सूचना पार्टी नराख्नुको कारणबारे इन्जिनियर साहसँग जिज्ञासा राख्दा उनले भने, ‘राख्नु पर्ने हो, मैले आफैं पनि कामको चापले हेर्न पाएको छैन । अब म उपभोक्ताहरुलाई सूचना पार्टी राख्न लगाउँछु ।’ यस सम्बन्धमा बुझ्न पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खड्कालाई सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ थियो । 

 

प्रदेशसभा सदस्य साहिदा खातुनको गोलबजार र धनगढीमाई नगरपालिका र नरहा गाउँपालिका १५ लाख ५० हजार स्यालो टुबेल जडान,  गोलबजार नगरक्षेत्रभरी २५ लाख सिंचाई बोर्डिङ्ग २५ लाख, शिपमूलक तालिम ९ लाख ५० हजार, सुखिपुर नगरपालिका ६ को मुङ्गालाल ठाकुरकुटीदेखि श्रीनारायण यादवको घरहुँदै नगरसम्म बाटो आरसीसी ढलान ४० लाख विनियोजन गरेको छ । ५ लाखको गोलबजार २ पासवान टोलमा सलहेश मन्दिर निर्माणको लागि विनियोजन गरेको छ। 

 

असारमा काम भएकाले धेरै ६ इन्चका बोरिङहरु यसक्षेत्रमा धेरै असफल भईसकेका डीटीएच प्रविधिबाट जडान गरिएको छ। हतारमा जडान गर्नुपर्ने भएकाले उनीहरुले यो प्रविधिको प्रयोग गरेको जानकारहरु बताउँछन् । डीटीएच प्रविधिबाट २४ घण्टामै एउटा बोरिङ जडान गर्न सकिने प्रविधिकहरु बताउँछन् । सिरहामा यस प्रविधिबाट जडानभएका सयौं बोरिङहरु फेल भएको प्राविधिकहरु नै बताउँछन्।

प्रदेशसभा सदस्य खातुनको योजनाहरु पनि उपभोक्ता समिति नामकोलागिमात्र गठन गरेर ठेकेदारले गरेको स्थानीयहरुले बताएको छ। प्रदेशसभा सदस्य खातुनले महिलाहरुको लागि शिपमूलक तालिमको लागि छुट्याएको ९ लाख ५० हजारको काम भने गर्न नसकिएको बताए । सबै कामको जिम्मा आफ्ना प्रतिनिधि हरिनारायण यादवलाई दिइएको थियो ।  समय अभावका कारण केही कामहरु बाँकी रहेको यादवले बताए। 

 

उपभोक्ता समितिको कार्यविधिमा निर्माण स्थलमै गरएर अधिकतम लाभग्राहीको उपस्थितिमा समिति गठन गर्ने व्यवस्था गरेको छ । तर, प्रदेशसभा सदस्यहरुको योजनाका समितिहरु घर तथा पार्टी कार्यालयमा गठन हुने गरेको छ । यसले पनि ऐन कानुन बनाउनेहरुमा नै नियमको पालनामा उदासिनता देखिएको हो । 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : १६ बजे