भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ : अध्यक्ष ओली

​​​​​​​चितवन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । 

धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि उत्पादन ठुलो मात्रामा गर्नुपर्ने उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ । सहकार्य र सहकारी आवश्यक छ ।” 

खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्न सकेमा कसैको परनिर्भर हुन नपर्ने उल्लेख गर्दै उहाँले नेपाल कृषिप्रधान देश भएकाले नै नाकाबन्दीले गलाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच महिनाको नाकाबन्दीमा पनि नेपाल टिकिरहनुको कारण कृषि उत्पादन नै हो । हामी प्रायः बाहिरबाट सबै चिज ल्याउँछौँ, तर हामीलाई खान पुग्ने अन्न, सब्जी, माछा, मासु र दूध यही उत्पादन हुन्छ । त्यसो हुनाले नाकाबन्दीले पनि हामीलाई गलाउन सकेन ।”

उत्पादनलाई प्रविधिसँग जोड्न जरुरी रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले राष्ट्रिय अन्न धानको उत्पादन गुणात्मक किसिमले वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्‍याउनुपर्ने उहाँको भनाइ थियो । “कृषिलाई आत्मनिर्भर बनाउने कुरामा विश्वविद्यालय लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उत्पादन बिक्री नभएर फाल्नुपर्ने स्थिति नआउनका लागि विविधीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १० : ०८ बजे