रवि लामिछानेको आजको बयान सकियो

तालिबानका डेपुटी गभर्नरको अन्त्येष्टि भएको विस्फोटमा परी ११ जनाको मृत्यु

काबुल  । अफगानिस्तानको बदख्सान प्रान्तका पूर्व डेपुटी गभर्नरको अन्त्येष्टि स्थल नजिकै भएको विस्फोटमा परी ११ जनाको मृत्यु भएको छ ।

टोलो न्युजका अनुसार बदख्सानको फैजाबादस्थित नवाबी मस्जिदमा भएको सो विस्फोटमा परी ५० भन्दा बढी घाइते भएका छन् । आक्रमणकारीहरूको अझै पत्ता लाग्न सकेको छैन ।

गत मङ्गलवार बिहान भएको आत्मघाती हमलामा बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको मृत्यु भएको थियो, सो गर्भनरको अन्त्येष्टिमा सहभागी हुन पुगेकाहरूलाई लक्षित गरी सो विस्फोट गराउँदा थप ११ जनाको मृत्यु भएको हो ।

मिडिया रिपोर्टका अनुसार बिहीबार अहमदीको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी थिए। अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरका अनुसार बिहीबार नबावी मस्जिद नजिकै भएको विस्फोटमा एक पूर्व तालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० जनाभन्दा बढी घाइते भएका छन्।

टकोरले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । सञ्चार तथा संस्कृति विभागका एक अधिकारीले बिहीबार भएको विस्फोटमा बागलानका पूर्व प्रहरी प्रमुख सफिउल्लाह समीमको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म कुनै पनि आतङ्कवादी सङ्गठनले सो आक्रमणको जिम्मेवारी लिएको छैन। मङ्गलवार भएको कार बम विस्फोटको जिम्मेवारी सशस्त्र समूह आईएसआईएलले लिएको थियो । सो विस्फोटपछि तालिबान सुरक्षा बलले आईएसआईएलका सदस्यहरू विरुद्ध कारबाही तीव्र पारेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ७ : ३३ बजे