झ्याप्लेखोलाबाट २५ शव निकालियो

विराटनगरमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी

​​​​​​​बिराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो । जसअनुसार शनिवार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाइएको छ ।

‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयअनुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सूचनामा भनिएको छ । 

जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ८ : १३ बजे