झ्याप्लेखोलाबाट २५ शव निकालियो

बुद्ध एयरको विमानमा पसेको मुसा समातियाे, उड्यो विमान

जनकपुरधाम । शनिवार जनकपुरबाट काठमाडौँका लागि उड्न लागेको बुद्ध एअरको विमानमा मुसा देखेपछि रोकिएको विमान आज मुसा समाएपछि काठमाडौँका लागि उडेको छ । 

आज दिउँसो १२ः३५ मिनेटमा उक्त विमान काठमाडौँका लागि उडेको जनकपुर विमानस्थलको सुरक्षामा खटिनु भएका प्रहरी सहायक निरीक्षक वालेश्वर यादवले जानकारी दिनु भएको छ । 

बुद्ध एयरको जुलेट लिमा नामक विमान हिजो बिहान आएर ८ः३५ मा उड्न लागेको बेलामा यात्रीले नै मुसा देखेको खबर विमानका परिचालकलाई गरेपछि यात्रीको सुरक्षाका लागि विमान सेवा रोकिएको थियो । 

बुद्ध एयरले अर्को विमान बोलाएर सो विमानका यात्रीहरूलाई काठमाडौँ पुर्‍याएको थियो । मुसा फेला परेका विमानबाट मध्यम आकारको मुसा विमानका प्राविधिकले जाल थापेर समाती प्राविधिक परीक्षण गरि केही समय धावनमार्गमा गुडाई परीक्षण पश्चात् आज दिउँसो उडाएका छन् । 

विमानमा कुनै प्राविधिक समस्या नभएको पाइएपछि प्राविधिक परीक्षणपछि उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुर कार्यालयले जानकारी दिएको छ । विमान सुरक्षित तवरले काठमाडौँ गएको पनि प्राधिकरणले जनाएको छ । 

विमानमा यात्रीहरूको लगेजबाट मुसा विमानमा प्रवेश गरेको अनुमान गरिएको छ । विमानमा मुसा प्रवेश गरेपछि अहिले विमानस्थलको सुरक्षा तथा यात्रीहरूको सामानको चेक जाँचमा कडाई गरिएको छ । विमानको प्राविधिक परीक्षणका लागि काठमाडौँबाट तीन जनाको प्राविधिक टोली जनकपुरधाम आएका थिए । 

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  ४ : २४ बजे