झ्याप्लेखोलाबाट २५ शव निकालियो

राजस्व नतिर्नेमाथि छानबिन हुने

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ । 
    
    अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसार्इं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।
    
    उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ ।
    
    त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब रु ४९ लाख बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।

    आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । 

रासस

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ६ : २७ बजे