झ्याप्लेखोलाबाट २५ शव निकालियो

तनहुँका स्थानीय तहबाटै श्रम स्वीकृति सुरु

दमौली। तनहुँका स्थानीय तहबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । 

जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ ।

बन्दीपुर गाउँपालिकाले बुधवारदेखि यो काम सुरु गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङका अनुसार मन्त्रालयको परिपत्रअनुसार नै उक्त काम सुरु गरिएको हो । 

वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने गुरुङले बताउनुभयो । “यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, उहाँले भन्नुभयो । 

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने गुरुङले बताउनुभयो । 

सम्बन्धित व्यक्तिले सो स्वीकृति लिनु पूर्व सामाजिक सुरक्षा कोष, कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने रकम आफूहरूले मोबाइल बैङ्किङबाट तिरेर सहजीकरण गरिदिने गरेको उहाँको भनाइ छ । “मोबाइल बैङ्किङ हुने र जान्नेले आफैँ तिर्नु भए पनि हुन्छ, नभए हामीहरूले सहजीकरण गरिदिएर उहाँहरूसँग उक्त रकम लिने गरेका छौँ”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि न्यूनतम रु दुई हजार र बीमाका लागि उमेरअनुसारको शुल्क तिर्नुपर्ने हुन्छ । उक्त सबै काम भए पनि अनलाइनमार्फत श्रम स्वीकृति प्राप्त हुने र उहाँहरूलाई स्वीकृति भएको मोबाइलमा पठाइदिने व्यवस्था मिलाइएको छ । 

“पहिला पहिला श्रम स्वीकृतिका लागि पोखरा जानुपर्थ्यो, एजेण्ट लगाउनुपर्थ्यो । पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा उहाँहरूलाई झन्झट हुँदैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार एजेण्ट लगाउँदा ठगिने गरेको गुनासो पनि आउने गरेको थियो ।  

आँबुखैरेनी गाउँपालिकाले पनि पालिकाबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।रासस

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ७ : ४० बजे