टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या करिब १० हजार

काठमाडाैं । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब १० हजार पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टर्कीमा हालसम्म ६,९५७ र सिरियामा कम्तीमा २,५३० जनाको ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने आस कम हुँदै गएको छ ।

युरोपका लागि विश्व स्वास्थ्य संगठनकी प्रमुख आपतकालीन अधिकारी क्याथरिन स्मालवुडले मृतकको संख्या २० हजार नाघ्न सक्ने बताएकी छन्।

विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्धारका लागि सहयोग पठाउने क्रम जारी छ।

उद्धारका लागि ६५ भन्दा बढी मुलुकले आफ्ना सैनिक र उद्धारकर्मी टर्की पठाएका छन् । अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भरहेको छ ।

अधिकारीहरूले मानिसहरूलाई आफ्ना घरमा तत्काल नफर्किन भनेका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको दक्षिणी सहर गाजियान्तेप नजिक केन्द्रविन्दु बनाएर ७.८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

त्यसपछि लगातार दर्जनौं परकम्पहरू गएका छन् । तीमध्ये एउटा ७.७ म्याग्नेच्युडको थियो । अहिलेसम्म २ सय वटा परकम्प गएको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु सीमाबाट नजिकै भएकाले सिरियामा पनि ठूलो क्षति भएको छ।

सिरियामा त भूकम्प प्रभावित सबै क्षेत्रमा सरकारको नियन्त्रण पनि छैन । उत्तरी सिरियामा पर्ने भूकम्प प्रभावित क्षेत्रमध्ये केही राज्य नियन्त्रित छ भने केहीमा टर्की अधिपत्य छ, केही क्षेत्रमा विद्रोहीहरूले कब्जा जमाएका छन् । गृह युद्धले क्षतविक्षत भएको ठाउँमा भूकम्पले थप पीडा थपेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १२ बजे