भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अफगानिस्तानमा अत्यधिक चिसोका कारण २० जनाको मृत्यु

काबुल – तापमानमा  भएको अचानक गिरावटले यहाँको दैनिकी नराम्ररी प्रभावित  भएको छ ।   यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त देशमा  झन्  कठाङ्ग्रिदो चिसो बढ्न थालेपछि यहाँको जनवीवन थप कष्टकर बनेको छ ।  

चिसाका कारण कम्तीमा २० जनाको ज्यान गएको छ ।  साथै बद्घिस र अन्य प्रान्तमा पनि चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन्  ।

हेरातका स्थानीय हुसेनले अवैध बसाइँसराइमा जाँदै गर्दा अत्यधिक चिसोले आफू अस्पताल भर्ना भएको बताएका छन् ।

उनले भनेका छन् – हिउँका कारण हामी बाटोमा चार घन्टा रोकियौँ, यात्रा पनि कष्टकर छ । 

हेरात क्षेत्रीय अस्पतालको तथ्याङ्क अनुसार यहाँ कम्तिमा ७० जना हाइपोथर्मियाका कारण अस्पताल भर्ना भएका छन्  । यसैगरी चारजना लागुऔषध दुर्व्यसनीको मृत्यु भएको  छ ।  स्थानीय अधिकारीहरूका अनुसार हाइपोथर्मियाका कारण बद्घिसमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो ती सबै गोठाला  रहेको बुझिएको छ ।

स्थानीय अधिकारीका अनुसार चिसोले खोस्त प्रान्तमा पाँच, फर्याबमा दुई र जज्जानमा दुई जनाको ज्यान गएको छ ।  यसेगरी  सार-ए-पुलमा एक व्यक्तिको मृत्यु भएको थियो भने बाघलान प्रान्तमा पाँच लागूऔषध दुर्व्यसनीहरू मारिएको पनि टोलो न्युजले रिपोर्ट गरेको छ।
तालिबानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा  गरेको थियो ।  

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कदो छ ।  

यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ ।  देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय सङ्कटको सामना गरिरहेको छ ।

रासस-एएनआई

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ३४ बजे