झ्याप्लेखोलाबाट २५ शव निकालियो

चिनियाँ नेता ली नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ ।

चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाइ गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

उहाँ सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधवार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुग्नुभएको थियो । बुधवार बिहान मात्रै चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनः निर्माण परियोजनाको अवलोकन र निरीक्षण तथा स्थानीय कला संस्कृतिको अवलोकन गरेको थियो ।

भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलवार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

प्रतिनिधिमण्डल स्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सुचारु गर्ने, सीमा बन्दरगाह खोल्नेलगायत आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलवार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तर संसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो ।

सोही दिन नै  अध्यक्ष ली र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको थियो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सोही दिन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

मङ्गलवार  दिउँसो परराष्ट्र मन्त्री डा।नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो ।

अध्यक्ष ली नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ५१ बजे