झ्याप्लेखोलाबाट २५ शव निकालियो

तरकारी खेतीबाट मनग्य आम्दानी

गलकोट ।   तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाइले लगानी बढाएर व्यवसाय विस्तार गरेका छन् । टनेलमा मल्चिङ र थोपा सिँचाइ प्रविधिको प्रयोगले उत्पादन दोब्बरले वृद्धि भएकाले  तरकारी खेतीतर्फ उनीहरु आकर्षित भएका हुन् ।  लामो समयको वैदेशिक रोजागरी पछि स्वदेशमा नै केही गर्ने उद्देश्यले घर फर्किएका भविलाल र टेकबहादुर विकले तरकारी खेती थालेपछि राम्रो कमाइ भएकाले लगानी वृद्धि गर्दै लगिएको बताएको हो । 

बागलुङ नगरपालिका–४ गौरीधामका ती दाजुभाइले पछिल्लो पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको हो । भाडाको जग्गामा तरकारी खेती गर्दै आइएका यसबाट राम्रो आम्दानी भएपछि थप क्षेत्र विस्तार गर्दै १४ रोपनी जग्गामा उहाँहरुले तरकारी खेती गर्नुभएको हो ।   दुई भाइले पाँच वर्षअघि एक÷एकवटा टनेलबाट सुरु गरेको तरकारी खेतीले  अहिले व्यावसायिक रुप लिएको छ । विक दाजुभाइले स्थापना गरेको विकास कृषि तथा पशुपन्छी फर्ममा अहिले टमाटर, सिमी र अकबरे खुर्सानी छन् । 

 “खुल्ला जग्गामा खेती गर्दा खासै राम्रो भएन विस्तारै टनेल बढाउँदै गयाैँ, अहिले दुई भाइका १४ वटा प्लाष्टिक टनेल छन्,” टेकबहादुरले भन्नुभयो । “टनेलमा भर्खर लगाइएका गोलभेँडाका बिरुवादेखि फल्न थालेको गोलभेँडा र टिप्नका लागि तयारी गोलभेँडा छन्, टनेलबाट दोब्बर आम्दानी हुँदोरहेछ, एक टनेलबाट सुरु भएको व्यावसायिक तरकारी खेती अहिले १४ वटा टनेलमा पुगेको छ ।”

  उहाँका अनुसार अहिले टमाटरको भाउ राम्रो भएकाले आम्दानी बढेको छ भने हालै टेकबहादुरको फर्ममा कृषि ज्ञान केन्द्रको रु एक लाख ५० हजार र कृषकको रु एक लाख पाँच हजार गरी दुईवटा टनेलसमेत थप गरिएको छ । पाँच वर्ष साउदी र १४ वर्ष  मलेसियाको बसाइँ सकेर नेपाल फर्कनुभएका उहाँ र मलेसियामा ११ वर्ष रोजगारी गर्नुभएका भविलालले वार्षिक रु ५० हजार भाडा तिर्नेगरी १४ रोपनी जग्गा लिएर व्यावसायिक तरकारी खेती थाल्नुभएको हो ।  

 वोइलर  कुखुरा, टनेलमा टमाटर, लोकल कुखुरा र  हाँससहित अन्य तरकारी बेचेर मासिक रु एक लाख आम्दानी गर्दै आएको उहाँहरु बताउनुहुन्छ । हालसम्म टनेलदेखि थोपा सिँचाइ प्रविधि जडान गर्न र कुखुराको खोर व्यवस्था गर्न रु १५ लाख लगानी भइसकेको भविलाल बताउनुहुन्छ । टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि अपनाउँदै आएका दाजुभाइ प्रविधिको विकाससँगै आम्दानी दोब्बर हुँदै आएको छ भन्नुहुन्छ ।  

उहाँहरुले परीक्षणका लागि एउटा टनेलभित्र अकबरे खुर्सानीसमेत लगाउनुभएको छ । अकबरे खुर्सानीको बजार मूल्य उच्च भएकाले खुर्सानी खेतीसमेत सुरु गरिएको हो । विदेशको कमाइले जाडेको जग्गामा दुई भाइले अलग–अलग घर बनाएर भाडाको जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँहरुले आफ्नो पुख्र्याैली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा समेत आलु खेती गर्दै आउनुभएको छ । धम्जा आलुको पकेट क्षेत्र हो । 
 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ४ : ४६ बजे