झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित 

​​​​​​​नयाँ दिल्ली । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मु निर्वाचित हुनुभएको छ। 

सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का उम्मेदवार मुर्मु बिहीबार राष्ट्रपतिमा विजयी हुनुभएको हो । 

राष्ट्रपतिमा विजय भएसँगै उहाँ देशको सर्वोच्च पदमा पुग्ने प्रथम आदिवासी नेतृ बन्नुभएको छ । 

यही १८ जुनमा भारतमा राष्ट्रपति निर्वाचन भएको थियो । मुर्मुलाई ४४ राजनीतिक दलहरूले समर्थन जनाएका थिए । विपक्षीका तर्फबाट उम्मेदवार बन्नुभएका यशवन्त सिन्हालाई ३४ दलको समर्थन थियो । 

६४ वर्षीया मुर्मु पूर्व शिक्षिका हुनुहुन्छ। उहाँ वर्षौँदेखि भारतीय जनता पार्टी(भाजपा) मा आबद्ध हुनुहुन्छ । उनी झारखण्डकी पूर्व राज्यपाल समेत हुनुहुन्थ्यो ।

भारतमा राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा व्यवस्थापिका संसद्का सदस्यले मतदान गर्छन् । भारतमा राष्ट्रपति राष्ट्राध्यक्ष भए पनि कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुन्छ । 

सन् १९५८ को जुन २० मा मयुरभञ्ज जिल्लाको बैदापोसी गाउँमा सन्थाल आदिवासी समुदायमा उहाँको जन्म भएको हो । यो भारतको सबैभन्दा पुरानो आदिवासी समूह हो । मर्मुले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गर्नुभयो। लगत्तै उहाँ सरकारी जागिरे हुनुभएको थियो। सन् १९७९ मा उहाँ सिँचाइ विभागमा सरकारी कर्मचारी हुनुहुन्थ्यो।

सन् २००० मा भाजपाको तर्फबाट राज्यसभामा निर्वाचित मुर्मु सन् २०१७ मा झारखण्ड राज्यको गभर्नर बन्नुभएको थियो । 

एजेन्सी

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : ३० बजे