पातारासीका किसान आलुखेतीमा आकर्षित

खलङ्गा। जुम्लाको पातारासी गाउँपालीकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । 

सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुैँ, जौँ रोप्दा दुःख मात्रै हुने हुँदा अहिले नगदेबाली आलु, सिमी, तरकारी, स्याउ र ओखरखेती गरिरहेका छन् ।

घरखर्चदेखि बच्चाको पढाइ खर्चसमेत आलु खेतीबाट हुने गरेको स्थानीयवासी धनवीर बोहोराले बताउनुभयो । स्थानीयवासीले उत्पादन गरेको कृषि उत्पादनलाई स्थानीय सरकारले विशेष जोड दिएपछि आलुखेती लगायतमा किसान सक्रिय भएको स्थानीय बासिन्दा बताउँछन् । विदेशी भूमिमा पसिना बगाउन कम्मर कसेका युवालाई स्वदेशमै कृषिखेतीमा आत्मनिर्भर हुन लोर्पा गाउँका किसानले सन्देश दिएको वडाध्यक्ष डिलबहादुर बोहोराले जानकारी दिनुभयो ।

खलङ्गा बजारमा पुग्ने कृषिजन्य उत्पादन सबैभन्दा बढी यहीँबाट आयात हुन्छ । यहाँको आलु, स्याउ, ओखर बाहिरसमेत निर्यात हुने गरेको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले बताउनुभयो ।

 बालविवाह रोकथाममा सक्रियता

यहाँको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियताका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको छ ।

चन्दननाथ नगरपालिका– ९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अब कानूनीरुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नुपर्ने बेला आएको छ । वडाध्यक्ष डाँगीले भन्नुभयो, “बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्छ ।” उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताउनुभयो ।

नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताउनुभयो । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहका बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ । 

जिल्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ । नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।  

नगरभित्रका दशवटै वडाभित्रका बाल क्लबका पदाधिकारीलाई बालविवाह रोकथाम गर्नका लागि सचेतना फैलाउने कार्य चलिरहेको नगरपालिकाका महिला तथा बालबालिका शाखाले जनाएको छ । रासस

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ४८ बजे