एमाले जनताको बलियो समर्थनसहित तीनै तहका सरकारमा पुनर्स्थापित हुन्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थनसहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्ने बताउनुभएको छ । 

उहाँले मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूको साथ रहने बताउनुभयो । 

“नेकपा (एमाले) त्यस्तो पार्टी हो, जसको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरूका सरोकारहरूलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गर्‍यो ।” उहाँले शुभकामनामा भन्नुभएको छ । 

उहाँले एमालेको अगुवाइमा संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको बताउनुभयो ।  

उहाँले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरूका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको बताउनुभयो । 

उहाँले नेपालको श्रमिक आन्दोलनले श्रमिक दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको बताउनुभयो । 

अध्यक्ष ओलीले विगतका वर्षमा एमाले नेतृत्वको सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम गरेको भन्नुहुँदै त्यही समझदारीका कारण श्रमिकको न्यूनतम पारिश्रमिक इतिहासमै उच्च, ३९ प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

उहाँले नियमित जसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हडताल र तालाबन्दीको समस्या अन्त्य भएको बताउनुहुँदै जसका कारण नेपालको अर्थतन्त्रले तीव्र विकासको लय समातेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको सरकारले श्रमिकको पारिश्रमिक बैकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनलाई सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुवात गरेको बताउनुभयो । 

उहाँले कोभिड–१९ महामारीको बेला सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण श्रमिकहरूको आयमा कमी नआओस् भनेर नै प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गरेको बताउनुभयो ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : २१ बजे