झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्थानीय तह निर्वाचन : उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो।

 नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । 

राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् । प्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गर्नुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई फोन गरेर बागी उम्मेदवारी फिर्ता गर्नुपर्ने र तालमेलको मर्म बुझिदिन अपिल गर्नुभएको छ । 

पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँ ठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ । सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहनुभएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिने बाहेकका अन्तिम नामावली शुक्रवार नै प्रकाशन गरिने बताउनुभयो । त्यसपछि शनिवार भने उम्मेदवारहरूले निर्वाचन चिह्न नै प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५२ बजे