भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

नेत्री आङ सान सू चीलाई थप पाँच वर्ष जेल

म्यानमार ।  भ्रष्टाचारको आरोपमा म्यान्मारकी नेत्री आङ सान सू चीलाई थप पाँच वर्ष जेल सजाय तोकिएको छ। म्यान्मारको एक अदालतले गोप्य सुनुवाइपछि नेत्री आङ सान सू चीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। यो सजायपछि उनको कूल जेल बस्नुपर्ने समय ११ वर्ष पुगेको छ।

म्यानमारको सैन्य शासकले नोबल पुरस्कार विजेता ७६ वर्षीया सू चीलाई थुप्रै फौजदारी अभियोग लगाएको छ। तर उनले सबै आरोप अस्वीकार गरेकी छन्। अधिकारकर्मी पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँछन्।

म्यानमारको राजधानीमा रहेको अदालतमा भएको सुनुवाइमा नागरिक उपस्थिति बन्देज थियो। सू चीका वकिलहरूलाई पनि पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।

बुधबार अदालतले उनलाई म्यान्मारको सबैभन्दा ठूलो सहर याङ्गुनका पूर्वप्रमुखसँग छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको मुद्दामा दोषी ठहर गरेको हो। 

गत डिसेम्बरमा उनलाई कोभिड नियम तोडेको मुद्दामा र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो। 

सू चीमाथि अझै १० अन्य भ्रष्टाचारका मुद्दाहरू छन्। ती प्रत्येकमा उनलाई अधिकतम १५ वर्षको जेल सजाय हुन सक्छ। उनीमाथि चुनावमा धाँधली गरेको र राज्यको गोप्य सूचना चुहाएको मुद्दा पनि छ।

उनका समर्थकले उनलाई जीवनभर जेल हाल्नका लागि सैन्य शासकले उनीमाथि गलत मुद्दा लगाएको बताउँछन्। सबै मुद्दामा दोषी ठहरिए उनलाई १९० वर्षसम्म जेल सजाय हुनसक्ने आकलन गरिएको छ। संयुक्त राष्ट्रसङ्घ र अन्य अधिकार समूहले अदालती कारबाहीलाई नाटक भनेका छन्। म्यान्मारको सैन्य शासकले भने सू चीले निष्पक्ष सुनुवाइ पाएको दाबी गर्छ। बीबीसी

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  १ : ३७ बजे