झ्याप्लेखोलाबाट २५ शव निकालियो

आज मनोनयन दर्ताको अन्तिम दिन, उम्मेदवारको सूची आजै प्रकाशन हुने

 

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । आइतबारबाट मनोनयन दर्ता भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि विशेष गरी सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदै छन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ । 

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मनोनयन सकिएपछि आज नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने जानकारी दिनुभयो । यसअघि एकै दिन मनोनयन दर्ता र उम्मेदवारहरूको सूची प्रकाशन गर्नुपर्दा समयको चाप परेको उहाँको भनाइ छ । 

सूची प्रकाशनपछि भने वैशाख १३  गते उम्मेदवार विरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्य तालिका छ । त्यस्तै, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा भने उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ  । 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५६ बजे