झ्याप्लेखोलाबाट २५ शव निकालियो

डोटीमा १,७४० निर्वाचन जनशक्ति खटिने

डोटी ।  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा एक हजार ७४० जनशक्ति परिचालन गरिने भएको छ । 

डोटी जिल्ला निर्वाचन कार्यालयले नौ वटै स्थानीय तहको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी र अन्य गरी एक हजार ७४० जना जनशक्ति परिचालन गर्न लागेको हो । 

मतदान केन्द्रमा जनशक्ति परिचालन गर्ने प्रयोजनका लागि कर्मचारीको विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन अधिकृत दलबहादुर मलासीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा वैशाख २७ गतेभित्र मतदान अधिकृत तथा सहायक मतदान अधिकृत नियुक्त गरेर मतदान स्थलमा खटाइसक्ने गरी तयारी भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि डोटीमा ११५ मतदान स्थल र १७१ मतदान केन्द्र निर्धारण गरिएका छन् । 

यस जिल्लामा निर्वाचन सम्पन्न गर्न १७१ मतदान अधिकृत तथा १७१ सहायक मतदान अधिकृत खटिने भएका छन् । निर्वाचनका बेला यहाँका नौ वटै स्थानीय तहमा ठाउँ, समय र परिस्थिति अनुसार थप कर्मचारी खटाइने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक शंकरबहादुर विष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो – “भौगोलिक रुपमा टाढा रहेका र सुरक्षाका दृष्टिले केही मतदान केन्द्र र मतदान स्थलहरुमा केही बढी कर्मचारी खटाउने योजना छ, सुरक्षाकर्मी पनि ती क्षेत्रमा थपिने छन् ।” डोटीमा हाल एक लाख २४ हजार १४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोटीका प्रमुख मलासीले जानकारी दिनुभयो ।

यसैगरी, स्थानीय तहको निर्वाचनमा शान्ति र सुरक्षा प्रवन्धका लागि सरकारले सेना खटाउन स्वीकृति दिएसँगै डोटीमा पनि नेपाली सेना खटिएको छ । श्री नं  ५ बाहिनी अड्डा दीपायल राजपुरका बाहिनीपति सहायक रथी मानबहादुर बोहराका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन र निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न सेना परिचालन गर्न थालिएको हो ।

जिल्लाका नौ वटै पालिकामा रहेका निर्वाचन केन्द्रलाई लक्ष्य गरी सेनाको गस्ती र उपस्थिति रहने गरी परिचालन भएको बाहिनीपति बोहराले बताउनुभयो । उहाँले भन्नुभयो – “सबै मतदान केन्द्रमा सुरक्षा दिन सेनाको टोली खटाइएका छन् । स्थानीय प्रशासनसँग आवश्यक समन्वय गरेर सेनाले निर्वाचनका बेला सुरक्षा प्रवन्ध गर्नेछ ।”

जिल्लाका नौ वटै स्थानीय तहमा शान्ति र सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको हो । श्री नं ५ बाहिनी अड्डा, राजपुरका अनुसार पहिलो चरणमा यहाँका आदर्श र बडिकेदार गाउँपालिकामा सैनिक अधिकृतको नेतृत्वमा सेना परिचालन भएको र ती क्षेत्रबाट अन्य निर्वाचन केन्द्रमा सैनिक टोली खटिने भएको छ । निर्वाचनमा सुरक्षा दिन तोकिएको निर्देशनअनुसार जिल्लाका सबै निर्वाचन केन्द्रमा सेना परिचालन गरिने छ । 

प्रमुख जिल्ला अधिकारी विष्टको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभर निर्वाचन प्रक्रिया अघि बढेसँगै सुरक्षा प्रदान गर्न आवश्यक सक्रियता बढाइसकेको छ । 
प्रजिअसहित यहाँका सुरक्षा हेर्ने सबै निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् ।

स्थानीय प्रशासनले जिल्लामा रहेका कुल ११५ मतदान स्थलमध्ये नौ वटा मतदानस्थललाई अति संवेदनशील, ३० वटालाई संवेदनशील र ७६ वटालाई सामान्यमा वर्गीकरण गरेको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनका सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – “निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी तयारी अवस्थामा छ । शुक्रबारदेखि जिल्लाभर म्यादी प्रहरीसमेत परिचालन हुन्छ । अन्य सुरक्षा निकायसँग समन्वय गरेर हामी शान्ति र सुरक्षामा विशेष ध्यान दिन्छौँ ।”  रासस

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  २ : १९ बजे