झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्थानीय तह निर्वाचन प्रक्रिया सुरु, आज र भोलि उम्मेदवारको मनोनयन हुँदै

काठमाडौँ । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्य तालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार आज र भोलि गते दुई दिन उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।

वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्ण रूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ । 

उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा हार्दिक अपिल समेत गरेको छ । 

यदि आचारसंहिता विपरीत कार्य भएर गरेको पाइएमा आयोगले कानुनबमोजिम कारबाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा आयोगले जानकारी गराइएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ७ : १९ बजे