झ्याप्लेखोलाबाट २५ शव निकालियो

स्थानीय तह निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने

सिराहा ।  वैशाख ३०गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । 

दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिराहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिनुभयो ।

भारतको मधुवनी जिल्लास्थित जयनगरमा  बसेको दुवै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । 

खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ कवाडीले बताउनुभयो । 

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागु औषध र मदिरा ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ कवाडीले जनाए ।

बैठकमा सिराहातर्फको नेतृत्व प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले गर्नुभएको थियो भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अमित कुमारले गर्नुभएको थियो ।  

बैठकमा प्रजिअ कवाडीसहित धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ५६ बजे