झ्याप्लेखोलाबाट २५ शव निकालियो

तनहुँका जनप्रतिनिधिले दिन थाले धमाधम राजीनामा

तनहुँ । तनहुँका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै फेरि स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहनेले राजीनामा दिइरहेका हुन् । 

वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।  

शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । शुक्रवारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् । 

शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी–५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिनुभएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।  वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहनुहुन्छ । रेग्मी र भण्डारीले पाएसम्म उपमेयरमा पनि आकाङ्क्षा देखाउनुभएको छ । 

बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिनुभएको छ । गाउँपालिकाको उपाध्यक्षका आकाङ्क्षी उहाँले शुक्रवार गाउँपालिका अध्यक्ष पूर्णसिंह थापासमक्ष राजीनामा बुझाउनुभएको हो ।  

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ३३ बजे