झ्याप्लेखोलाबाट २५ शव निकालियो

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ।  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङका १० वटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आएका छन् । 

दिक्तेल बजारस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा नौवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजदेखि सञ्चालनमा आएको हो । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा आज एकैसाथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक कर्मचारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी परिचालन गरिएको बताइएको छ । 

जिल्लामा हुने निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । जिल्लामा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३५ अतिसंवेदनशील, ५८ संवेदनशील र ४३ मतदान केन्द्र सामान्यमा वर्गीकरण गरिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताका आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति, सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको सुरक्षा समितिका संयोजक एवं प्रजिअ दाहालले जानकारी दिनुभएको छ । निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका ज्येष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसैगरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिव र निजामती सेवाका उपसचिव रहने गरी निर्वाचन अधिकृत तोकेको छ ।

दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा जिल्ला न्यायधिवक्ता सङ्गीता न्यौपाने (ढुङ्गेल), खोटेहाङ गाउँपालिकामा गेहेन्द्रराज रेग्मी, जन्तेढुङ्गा गाउँपालिकामा मानबहादुर मगर, बराहपोखरी गाउँपालिका कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर घिमिरे, साकेला गाउँपालिकामा राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । त्यस्तै, ऐसेलुखर्क गाउँपालिकामा रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा राजकुमार राई, रावाबेँसी गाउँपालिकामा लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनमा यस जिल्लाबाट एक लाख ४३ हजार ७५२ जनाले मतदान गर्न पाउने भएका छन् । तीमध्इे ६८ हजार ७४६ महिला र ७५ हजार ६०० पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ५ : ०१ बजे