झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

निर्वाचनमा मकवानपुरमा १७ सय कर्मचारी खटिने

हेटौँडा।  आसन्न स्थानीय निर्वाचन २०७९ का लागि मकवानपुरमा एक हजार ७६७ कर्मचारी र एक हजार ६८ स्वयंसेवक परिचालन गरिने प्रदेश कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनको तयारीका विषयमा कुरा गर्दै राससलाई सो जानकारी दिनुभएको हो ।  एक मतदान केन्द्रमा मतदान अधिकृतसहित पाँच कर्मचारी र दुईदेखि तीन जनासम्म स्वयंसेवक खटिने व्यवस्था रहेकोे छ । ५०० भन्दा बढी मतदाता भएको स्थानमा कर्मचारी र स्वयंसेवकसहित आठ र ५०० भन्दा कम मतदाता रहेको स्थानमा कर्मचारीसहित सात जना स्वयंसेवक खटिने व्यवस्था भएको उहाँले जनाउनुभयो । 

मकवानपुर जिल्लामा १६५ मतदानस्थलमा ३५६ मतदान केन्द्र रहेको छ भने प्रत्येक पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने व्यवस्था रहेको अधिकृत पौडेलको भनाइ छ । एक मतदान केन्द्रमा अधिकतम एक हजार मतदाताले मतदान गर्ने व्यवस्था रहेको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारीको खटनपटनको व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ । 

गत चैत २९ गतेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति र प्रशिक्षण भइसकेको छ । वैशाख ८ गतेदेखि जिल्लामा कार्यालय खोल्ने कार्यक्रम रहेको छ ।  
  
बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमानगरपालिकासहित मकवानपुरमा निर्वाचनको तयारी दु्रतरुपमा भइरहेको छ । साथै निर्वाचनको माहोलसमेत बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा निर्वाचनका विषयमा छलफल, बहस र प्रचारप्रसार भइरहेको छ । यसका लागि निर्वाचन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनका लागि ५३० पदका लागि निर्वाचनको आवश्यक तयारी गरिरहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । 

मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका छ । जसअन्तर्गत प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष गरी २० र १०२ वडाका लागि वडाध्यक्ष तथा सदस्यसहित ५१० अर्थात् कूल निर्वाचन ५३० पदका लागि हुनेछ । निर्वाचन मिति घोषणा र तयारीसँगै निर्वाचनको आन्तरिक सुरक्षा योजना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लाका १६५ वटा निर्वाचनस्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ अति संवेदनशील, ६० संवेदनशील र ८६ वटा सामान्य गरी तीन भागमा मतदानस्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिरांग, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही निर्वाचनस्थललाई अतिसंवेदनशीलस्थलका रुपमा राखिएको छ । 

जिल्लामा ३५६ निर्वाचन केन्द्र छन् । विगतको निर्वाचनको समीक्षासहित सञ्चार र यातायातको पहँुचका आधारमा निर्वाचनस्थलको विभाजन गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । 

विगतका आधारमा सुरक्षाको रणनीति तयार गरिरहेको उहाँको भनाइ छ । प्रजिअ पाण्डेले ढुक्कसँग मतदान गर्न पाउनेगरी सुरक्षा व्यवस्था हुने दाबीसमेत गर्नुभयो । उहाँले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । जिल्लामा निर्वाचनका लागि विभिन्न कार्यालयबाट तीन हजारभन्दा बढी कर्मचारी विवरण प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचन भयरहित बनाउन सञ्चारकर्मीको भूमिका 

मकवानपुरका निर्वाचन अधिकृत पौडेलले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयहित वातावरणमा सम्पन्न गराउन आमसञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । 

रासससँग कुरा गर्दै उहाँले आसन्न स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तीन किसिमको निर्वाचनस्थल रहेको र सबैमा मतदातालाई ढुक्कले मतदान गर्न प्राविधिकरुपमा निर्वाचन आयोग तथा सुरक्षा निकाय लागे पनि वातावरण सिर्जना गर्न भने मिडियाको भूमिका महत्वपूर्ण हुनेछ भन्नुभयो । 

उहाँले स्वच्छ, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आमसञ्चारमाध्यमलाई आह्वान गर्दै सत्यतथ्य र निष्पक्ष  सूचना सम्प्रेषण गरेर सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । निर्वाचन अधिकृत पौडेलले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएको, यसले निर्वाचनमा प्रभावित पार्न सक्ने कारण निर्वाचनमा हुने सबै खर्चको सीमा तोकिएको जनाउनुभयो । 

अधिकृत पौडेलले उम्मेदवार मनोनयनका लागि दुईदिने र प्रचारप्रसारका लागि १५ दिनबाट घटाएर ११ दिन दिने निर्णय गरिएको र यो निर्णय कडाइकासाथ कार्यान्वयन हुने बताउनुभयो । मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लङ्घनका विषय हुन नदिन सञ्चारमाध्यममा आएका समाचारलाई पनि सूचनाका रुपमा प्रयोग गरेर कारवाही प्रक्रिया अगाडि बढाइने अधिकृत पौडेलले जनाउनुभयो । 

प्रचारमा बालबालिका प्रयोग नगर्न आग्रह

बालबालिकाका लागि काम गरिरहेको सिविन बाल हेल्पलाइनले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न दललाई ज्ञापनपत्र बुझाएसँगै अभिभावकले दलबाट बालअधिकार सुनिश्चितताको अपेक्षा राखेका छन् ।

हेटौँडा उपमहानगरपालिकाकी मतदाता कौशिला बर्तौलाले दलले अब भने विगतको जस्तो विकासका नारा मात्र दिएर नपुग्ने बताउँदै सिविनले माग गरेका विषयलाई समेत समेटिदिए बालबालिकाको हितमा काम हुने बताउनुभयो । उहाँले बालबालिकालाई झण्डा बोकाएर हिँडेको हेर्न नचाहेको जनाउनुभयो । 

आफ्नो इच्छाले मतदान गर्न पाउने अधिकार सुरक्षित गरिदिन र बालबालिकालाई चर्को घाममा उनीहरुले नै नबुझ्ने नारा लगाउँदै लिएर नहिडिदिन अपिलसमेत गर्नुभयो । त्यसैगरी हेटौँडा–९ की मतदाता सीता बुढाथोकीले बालबालिकालाई चुनावी नारा घोकाउँदै लिएर नहिँड्न दललाई अनुरोध गर्नुभएको छ । रासस

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : १९ बजे