झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

निष्पक्ष निर्वाचनमा कर्मचारीको भूमिका महत्वपूर्ण

बागमती।  मकवानपुरका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन राष्ट्रसेवक कर्मचारीको ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ । 

आज जिल्ला प्रशासन कार्यालय मकवानपुरले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठकमा उहाँले निर्वाचन आचारसंहिताको पालना र निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिनुभएको हो । 

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले राष्ट्रसेवक कर्मचारीले कुनै पनि राजनीतिक दलको प्रचारप्रसार नगर्न र विभिन्न कार्यक्रममा भाग नलिई तटस्थता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा आ–आफ्नो विचार सबैको हुन्छ तर कर्मचारीको भूमिका निर्वाह गर्दा निर्वाचन आचारसंहिता पालना गर्नैपार्छ ।” 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष गराउनु सबैको साझा दायित्व रहेको बताउँदै स्थानीय तहको निर्वाचनलाई उत्साहजनक बनाउनुपर्नेमा जोड दिनुभयो । 

 प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले स्थानीय निर्वाचनको तयारी तीब्र रूपमा भइरहेको जानकारी दिँदै निर्वाचनमा खट्ने कर्मचारीको विवरण सङ्कलन, मतदानस्थलको निरीक्षण, अनुगमन र सम्बन्धित निकायहरूसँग समन्वय र छलफल भइरहेको जानकारी दिनुभयो । 

बैठकमा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरीसहित विभिन्न संस्थानका कार्यालय प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । 

दस वटा स्थानीय तह रहेको मकवानपुरमा कूल मतदाता दुई लाख ९५ हजार ५५० रहेको छ । विगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९४६ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये इन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४९५, कैलाश गाउँपालिकामा १४ हजार ६२०, थाहा नगरपालिकामा ३२ हजार ३१६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९०, भीमफेदी गाउँपालिकामा १७ हजार ४९०, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १५०, मनहरि गाउँपालिकामा २६ हजार ७५१, राक्सिराँग गाउँपालिकामा १५ हजार ८७३ र हेटौँडा उपमहानगरपालिकामा एक लाख चार हजार ४७३ रहेको निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मकवानपुरमा दुई लाख २७ हजार ७०० मतदाता रहेको थियो । स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको एक मतदानस्थल सारिने र एक थपिने भएको छ । जिल्लाको हेटौँडा उपमहानगरपालिका —४ स्थित वासुदेश सभागृहको मतदानस्थल सारेर हेटौँडा उपमहानगरपालिका—४ भुटनदेवी माविमा राखिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ ।  

हेटौँडाको हुप्राचौरस्थित वासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माण कार्य भइरहेकाले मतदानस्थल सारिएको जनाइएको छ । त्यसैगरी मनहरि गाउँपालिकामा एक मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरि–६ मा मतदानस्थल थपिने बताइएको छ । मकवानपुरमा हाल १६५ मतदानस्थल कायम भएको छ ।  रासस

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ३६ बजे