मोदीलाई शहबाज सरिफले पठाएको पत्रमा के छ ?

नयाँ दिल्ली । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीले दुई देशबीचका बाँकी मुद्दाहरूको शान्तिपूर्ण समाधानमा जोड दिएका छन् । सरिफले एउटा पत्र लेखेर मोदीलाई यस्तो आग्रह गरेका हुन् । 

यसअघि मोदीले पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा शहबाज सरिफलाई बधाइ दिँदै पठाएको पत्रको जबाफमा सरिफले पनि पत्र पठाएका हुन् । 

पत्रमा सरिफले अर्थपूर्ण भारत–पाकिस्तान सम्बन्धबाट दुई देशका जनता र क्षेत्रको सामाजिक–आर्थिक विकास हाँसिल गर्न सकिने बताएका छन् । 

अर्थपूर्ण सम्बन्धबाट नै जम्मू र कश्मीरसहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधान हुने प्रधानमन्त्री सरिफले आशा गरेका छन् । 

शरीफले पाकिस्तान र भारतबीचको ‘शान्तिपूर्ण र सहयोगी’ सम्बन्ध दुई देश र क्षेत्रका जनताको सामाजिक–आर्थिक विकासका लागि आवश्यक रहेको बताए ।

सार्थक वार्ता र जम्मु तथा कश्मीरको मूल मुद्दासहित सबै बाँकी विवादहरूको शान्तिपूर्ण समाधानमा सरिफले जोड दिएका छन् ।

त्यस्तै केही दिनअघि सरिफलाई पठाएको पत्रमा मोदीले भारत पाकिस्तानसँग रचनात्मक सम्बन्ध चाहेको बताएका थिए ।  
यस्तै सरिफले आफू क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए । 

इमरान खानमाथि संसदमा पेस भएको अविश्वासको प्रस्ताव संसदबाट पारित भएपछि ११ अप्रिलमा शहबाज सरिफ नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : २९ बजे