रुसमाथि थप प्रतिबन्धको तयारी, राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट हटाउन राष्ट्रपति जेलेन्स्कीको माग

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गर्नुभएको छ । 

राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलो पटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा बोल्नुभएको थियो । 

बिबिसीका अनुसार रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेको छ । 

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभयो । 

वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठुलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ।

युरोपेली राजदूतहरूले बुधवार प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्व र सञ्चालनमा रहेका पानीजहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन् । 

यसअघि भिडियो लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा सम्बोधन गर्नुभएका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेको भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराउनुभएको थियो ।

देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उहाँले उल्लेख गर्नुभयो। उहाँले युक्रेनी भू–भाग कब्जा गरेका फौजहरूले “मनोरञ्जन लिनका लागि मात्र समेत” मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यातना दिएको जनाउनुभयो।

राष्ट्रपति जेलेन्स्कीले एउटा ग्राफिक्स भिडियो पनि प्रस्तुत गर्नुभएको थियो जसमा मृत युक्रेनहरू देखाइएको थियो । तर बिबिसीले स्वतन्त्र रूपमा ती तस्बिरहरू पुष्टि गरेको छैन।

जबाफदेहिताको माग गर्नुहुँदै राष्ट्रपति जेलेन्स्कीले मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट हटाउनुपर्ने माग समेत गर्नुभएको छ । तर रुसले पुन आफू विरुद्धका आरोप अस्वीकार गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : २३ बजे