भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बेलायतमा स्नेहा श्रेष्ठ पहिलो नेपाली महिला ब्यारिष्टर बन्न सफल 

लण्डन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बन्नुभएको छ  । 

ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज)  यसै महिना (फेब्रुअरी) मा समाप्त गरेपछि उहाँ गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रूपमा सूचीकृत हुनुभएको हो  । 

बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उहाँले अपराध, परिवारसित सम्बन्धित बालबालिका र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नुहुनेछ । सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आउनुभएको थियो  । उहाँले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ  ।

प्राक्टिसिङ ब्यारिष्टरका रूपमा सूचीकृत भएपछि उहाँले आफूलाई खुसी लागेको प्रतिक्रिया दिनुभयो । धेरै लामो समयको अध्ययन र कठोर तालिमपछि ब्यारिष्टर हुन पाएको र यस क्रममा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल सुरु भएको बताउँदै उहाँले नेपालीहरूलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ । कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ । बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ । 

ब्यारिष्टरले अदालतमा न्यायाधीशसामु बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन् ।

बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीन जना प्रा.डा.सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहनुभएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : १९ बजे