भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लण्डन । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । 

यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ ।

बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैर बेलायती सैनिकको भेलामा उक्त घोषणा गर्नुभएको हो । भिसा शुल्क छुटको सुविधा पहिले नै अवकाश लिएकाहरूका हकमा पनि लागू हुने जनाइएको छ ।

रक्षामन्त्री वालेसले विदेशी मुलुकका नागरिकले बेलायती सेनामा पुर्‍याएको योगदानको कदर स्वरूप भिसा शुल्क नलिने निर्णय लिइएको बताउनुभयो । 

सरकारको नयाँ नीतिपछि अब बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका र सेवाकै क्रममा घाइते वा बिरामी परेर अवकाश लिने विदेशी नागरिकले बेलायतको भिसा लिन कुनै शुल्क तिर्नुपर्ने छैन ।

बेलायती सेनामा क्यानडा, फिजी, अष्ट्रेलिया, धाना, भारत, जमइका, नेपाल, न्यूजील्याण्ड, नाइजेरिया, सेन्ट लुसिया र दक्षिण अफ्रिकाका गरी नौ हजार जति गैर बेलायती रहेका बताइन्छ । बेलायतमा सेटलमेन्ट भिसा आवेदन गर्दा अहिले प्रतिव्यक्ति दुई हजार ३८९ पाउन्ड शुल्क बुझाउनुपर्छ ।

बेलायतका लागि व्यक्तिगत रूपमा गरेको योगदानको मूल्याङ्कन स्वरूप यो कदम चालिएको र यसबाट गोर्खा र कमनवेल्थका अन्यलाई पनि सहयोग पुग्ने गृहमन्त्री पटेलले बताउनुभयो । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ८ : ०९ बजे