भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा जारी रहने

सिमकोट।  जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । 

निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताउनुभयो । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ ।

हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई नयाँ परिचयपत्र दिने काम भइरहेको छ । आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा निवेदन दिनेले नयाँ मतदाता परिचयपत्र पाउने कार्यालयले जनाएको छ ।

हाल कार्यालयमा पाँच कर्मचारी खटिएका छन् । कामको चाप हेरी कर्मचारी थप्ने तयारी गरिएको कार्यालयले जनाएको छ । फागुन १९ गते जिल्लाका ४४ वटै वडाका मतादाताको नामावली प्रकाशित हुने र त्यसपछि २५ गतेसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन हुने रानाले जानकारी दिनुभयो ।

हुम्लाको मतदाता सङ्ख्या ३२ हजार ९८३ रहेको छ । विसं २०७४ को निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ११ : ०५ बजे